बनियानी, ४ असार । दक्षिणी झापाको कचनकवल गाउँपालिका–६ स्थित सर्पदंश उपचार केन्द्र बनियानीमा नेपाल–भारत दुवै देशका आठ सय ५६ जना बिरामीको उपचार भएको छ ।
वि.सं. २०७८ साल साउन ३ गते स्थापना भएको सर्पदंश उपचार केन्द्र बनियानीमा हालसम्म एक सय जना भारतीय नागरिकसहित आठ सय ५६ जना बिरामीको उपचार भएको कचनकवल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिनुभयो ।
कूल सर्पदंशका बिरामीमध्ये २३ जना महिला र २३ जना पुरुष ४६ जना बिषालू सर्पदंशका नेपाली बिरामी रहेका छन् भने पाँच जना महिला र आठ जना पुरुष भारतीय बिरामी रहेका छन् ।
उपचार केन्द्र स्थापना अघि सर्पदंशबाट यस क्षेत्रमा बर्सेनि छ÷सात जनाको ज्यान जाने गरेको थियो । हाल मृत्यु शून्य रहेको यादवले बताउनुभयो । आईसीयू नहुँदा सर्पदंशबाट गम्भीर भएका बिरामीको उपचारमा समस्या भएको र उनीहरुलाई रेफर गर्नुपर्दा कतिपय बिरामीको बाटोमै मृत्यु हुने गरेको उहाँले बताउनुभयो ।


