विराटनगर, ९ असार। मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानहरुबाट असार ८ गते प्रतिबन्धित लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
४ सय १० मिलिग्राम ब्राउन सुगर सहित मोरङको पथरीशनिश्चरे नगरपालिका–१० भुटानी शरणार्थी क्याम्प स्थितबाट पक्राउ परेका सोही स्थानका २४ बर्षीय पुष्पलाल डाँगी र २३ बर्षीय अनिल राईको इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भई रहेको छ ।
यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट ९ ग्राम ३ सय २० मिलिग्राम ब्राउन सुगर सहित मोरङको सुन्दरहरैचा नगरपालिका–८ का २९ बर्षीय सरोज आचार्यलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय उर्लाबारीको गस्ती टोलीले उर्लाबारी नगरपालिका–५ सिसौली स्थितबाट सोही स्थानका २३ बर्षीय पाल्देन तामाङलाई शंका लागी चेकजाँच गर्ने क्रममा ७० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको थियो ।
यसका साथै उदयपुरको बेलका नगरपालिका–१ प्रहरी बिट आम्बासीको टोलीले रामपुरठोक्सिलाबाट फत्तेपुर तर्फ जाँदै म्याजिक भेनलाई चेकजाँच गर्दा भेनमा सवार बेलका–७ मैनामैनी का ३१ बर्षीय धन बहादुर राईले झोलामा लुकाएको १२ किलोग्राम लागु औषध गाँजा सहित उनलाई नियन्त्रणमा लिएको हो ।


