
इलाम, ९ असार । इलामको रोङ गाउँपालिका–१ शान्तिपुरमा बसोबास गर्दै आएका ७२ अव्यवस्थित बसोबासी परिवारले धेरै वर्षपछि जग्गाधनी लालपुर्जा पाएका छन्। जग्गा धनी प्रमाण नपाएर भूमिहीनको हैसियतमा बस्दै आएका परिवारले लालपुर्जा पाएपछि स्थानीयवासीमा खुशीको लहर छाएको छ।
स्थानिय दिलबहादुर सुब्बासहित लालपुर्जा प्राप्त गर्नेहरु निकै हर्षित देखिएका छन्।
भूमि समस्या समाधान आयोगले रोङ गाउँपालिकासँग समन्वय गरेर लालपुर्जा वितरण गरेको हो। आयोगका इलाम अध्यक्ष प्रकाश अधिकारीका अनुसार पहिलो चरणमा ७२ जनालाई लालपुर्जा वितरण गरिएको हो भने बाँकी ७८ जनालाई क्रमशः नियमअनुसार वितरण गरिने तयारी छ।
अधिकारीका अनुसार रोङ गाउँपालिकाबाट प्राप्त भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका १५० निवेदनमध्ये हालसम्मको निर्णयमा आधारित भएर वितरण प्रक्रिया अघि बढाइएको हो।
आयोगले जिल्लाका अन्य पालिकामा पनि लालपुर्जा वितरण प्रक्रिया छिट्टै सुरु गरिने जनाएको छ। असार मसान्तभित्रै जिल्लाभर करिब ७ सय जनालाई लालपुर्जा वितरण गर्ने तयारी आयोगको छ।


