
झापा, १० असार । इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ ।
विराटनगरस्थित नोबेल अस्पतालमा आज इलामकी ४१ वर्षीय महिलाको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । ती महिला झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल शिक्षण अस्पतालमा थप उपचारका लागि आएकी थिइन् । सोमबार अस्पतालमा भर्ना भएकी उनको आज बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको थियो ।
कोरोनाको नयाँ भेरिएन्ट आएपछि नेपालमा मृत्यु भएको यो पहिलो केश हो । मृतकको शव परिवारले बुझिसकेको प्रहरीले जानकारी दिएको छ । कोशी प्रदेशको मोरङ, झापा र इलाममा गरी पछिल्लो समय ८ जनामा कोरोना पुष्टि भएको प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये एक जनाको ज्यान गएको हो । सङ्क्रमितमध्ये झापाका ४ जना र मोरङका २ र इलामका १ जनाको उपचार भइरहेको बताइएको छ ।
२५ महिनापछि कोरोना सङ्क्रमणले पुनः मृत्युको घटना सार्वजनिक भएको छ । २०८० वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणको कारण मृत्यु हुने क्रम राखिएको थियो ।


