अर्जुनधारा, १० असार । झापाको अर्जुनधारा नगरपालिकाले तयार पारेको स्थानीय पाठ्क्रम ‘हाम्रो अर्जुनधारा’ यहाँका विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
आज नगरपालिकाको सहभाहलमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख बलदेवसिंह गोम्देन र स्थानीय पाठ्यक्रम निर्माण समितिका संयोजक बद्रीप्रसाद ओलीले पुस्तक सार्वजनिक गरेसँगै स्थानीय विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले नगरको शिक्षा नीतिलाई सुधार गर्दै लगिने बताउनुभयो । स्थानीय पाठ्क्रम निर्माणमा केही विषय छुट भएमा कक्षा–१ देखि ५ को स्थानीय पाठ्यक्रममा समेटिने उहाँले बताउनुभयो ।
स्थानीय पाठ्यक्रम निर्माण समिति संयोजक ओलीको पुस्तकलाई सबै कुराले पूर्ण बनाउने प्रयास गरिएको बताउनुभयो । उहाँले केही छुटेको भए अर्को कक्षामा थप गरिँदै लगिने बताउनुभयो । समितिले तयार पारेको कक्षा–६, ७ र ८ को स्थानीय पाठ्यक्रममा नगरको भूगोल, जातजाती, धर्म–संस्कृति, खोलानाला, मठ–मन्दिर लगायत सबै क्षेत्रलाई समावेश गरिएको छ ।
पुस्तक हस्तान्तरण कार्यक्रममा नगरकी उप–प्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तीलचन रिमाल, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरका कर्मचारी, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षकलगायतका उपस्थिति रहेको थियो ।
नगर प्रमुख गोम्देनको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नगरका प्रशासन शाखा प्रमुख तथा स्थानीय पाठ्यक्रम निर्माण समितिका सदस्य सचिव चुडामणि निरौलाले गर्नुभएको थियो । निरौलाले हाल चार हजार पाँच सय पुस्तक छपाइ गरिएको बताउनुभयो ।


