झापा, ११ असार । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज बाढीबारे सतर्कता सूचना जारी गरेको छ। बाढी महाशाखाका अनुसार आज बागमतीसहित देशका ठूला नदी तथा काठमाडौँसहित ५६ जिल्लामा सतर्कता अपनाउन आवश्यक छ।
बाढी महाशाखाले जारी गरेको बुलेटिनमा आजसमेत तीन दिन शुक्रबारसम्म कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू, साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने सम्भावना रहे पनि बढ्न सक्ने तथा कोसी, नारायणी नदी, कन्काई र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने आकलन रहेकाले ती नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ।
जिल्लाका हिसाबले चाहिँ बाढी महाशाखाले आज झापासहित ५६ जिल्लालाई सतर्कताको सूचीमा राखेको छ। आज सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक, धादिङ, गोरखा, तनहुँ, गुल्मी, कास्की, पर्वत, पाल्पा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, डोटी, डडेलधुरा, बैतडी, बझाङ र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ।
साथै झापा, इलाम, पाँचथर, संखुवासभा, धनकुटा, दोलखा, नुवाकोट, मोरङ, सुनसरी, रौतहट, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, उदयपुर, चितवन, सल्यान, ताप्लेजुङ, खोटाङ, सिराहा, धनुषा, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, रुकुमपूर्व, अर्घाखाँची, प्युठान, सुर्खेत, कपिलवस्तु, दाङ, रुकुमपश्चिम, जाजरकोट, कालिकोट, डोटी, दैलेख, अछाम, दार्चुला, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम देखिएकाले ती नदीका तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन जरुरी छ।


