झापा, ११ असार । रौतहटको चन्द्रपुर नगरपालिका–१० निबुवाटोलमा ट्वाइलेटको सेप्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।
चन्द्रपुर–१० निबुवाटोलकी गरिमा साहका छोरा दुई वर्षीय रञ्जे साह र जगदीश साहकी छोरी दुई वर्षीया खुश्बु साहको सेप्टिक ट्यांकीमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
खेल्ने क्रममा मंगलबार साँझ उनीहरू छिमेकी हृदय पासवानको शौचालयको सेप्टिक ट्यांकीमा खसेका हुन् । ट्वाइलेटको सेप्टिक ट्याङकीमाथि प्लाइले मात्रै ढाकेको र खेल्ने क्रममा दुबै बालबालिका सेप्टिक ट्याङकीमा खसेर डुबेको उहाँले बताउनुभयो ।
सेप्टिक ट्यांकीबाट निकालेर उनीहरूलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएको थियो । उपचारको क्रममा गएराति नै उनीहरुको मृत्यु भएको रायले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको उनको भनाइ छ।


