चन्द्र बस्नेत
कनकाई, ११ असार । झापाको कनकाई नगरपालिका–३ मा सञ्चालित ३ महिने कम्प्युटर तालिम सम्पन्न भएको छ ।
सुरुङ्गा सामुदायिक सिकाई केन्द्रको आयोजना र कनकाई–३ को आर्थिक सहयोगमा गत बैशाख २१ गतेदेखि शुरु भएको ३ महिने तालिम आज सम्पन्न भएको हो । सुरुङ्गा सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष पुष्पा भट्टराई (कडेल)को सभापतित्वमा भएको तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि वडा नं. ३ का अध्यक्ष युवराज चौलागाईं रहनुभएको थियो ।

प्रमुख अतिथि चौलागाईंले यस्ता तालिम नगर तथा वडामा अतिआवश्यक रहेको मनन् गर्दै आगामी दिनमा समेत वडाको तर्फबाट बजेटको व्यस्थापन गर्दै प्राथमिकतामा राख्ने बताउनुभयो । ३ महिनासम्म सिकेको सिपलाई सकेसम्म सदुपयोग गर्दै अगाडि बढ्न सुझाव दिनुभयो ।
वडाध्यक्ष चौलागाईंले शिक्षा क्षेत्रलाई समुन्नत बनाउन आजको आवश्यकता कम्प्युटर नै भएको बताउनुभयो । उहाँले उत्कृष्ट विद्यार्थी उत्पादन गर्नमा सुरुमा यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि भगवती सहकारी संस्थाका अध्यक्ष युवराज संङ्ग्रौला, सोही वडाका वडा सदस्य गोविन्द सुवेदी, सुरुङ्गा जेसीजका अध्यक्ष दिपेन्द्र प्रधान लगायतले अहिले हरेक क्षेत्रमा कम्युटरकै प्रयोग हुने भएकाले जीविकोपार्जन गर्न समेत यो ज्ञान हुनेलाई सहज हुने धारणा राख्नुभयो । सिकेको सिपलाई अवसरको रुपमा परिणत गर्न खोजी गर्दै अगाडी बढ्न उहाँहरुले आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य गोविन्द सुवेदीले कनकाई–३ मा प्राप्त बजेटलाई योजनाबद्ध रुपमा सबै क्षेत्रमा मिलाएर युवा, महिला, बालबालिका, जेष्ठ नागरिक लक्षित तालिम सम्पन्न गराएको जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार शिवकुमार कडेलले जुन उद्देश्यले संस्था स्थापना भएको हो, त्यस्तै गतिविधिमा सिकाई केन्द्र लागिपरेकोमा खुशी व्यक्त गर्दै विभिन्न क्षेत्रसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा कनकाई कम्प्युटर इन्स्टिच्युटका प्रशिक्षक प्रवेश घिमिरेले कुनै पनि सीप सिक्नु ठूलो कुरा नभएको तर सिकेको सिपलाई सदुपयोग गर्नु ठूलो कुरा हुने बताउनुभयो ।
तालिम समापनको अवसरमा प्रशिक्षार्थी गोमा चुडाल र संङ्गिता कुमालले ३ महिनासम्म आफुले सिकेको अनुभव सुनाउनु भएको थियो । उहाँहरुले आफूहरुलाई कम्प्युटर सिक्ने अवसर दिने सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
सिकाई केन्द्रकी अध्यक्ष भट्टराईले प्राप्त सिपलाई कुनै ठाउँमा आवश्यक पर्ने भन्दै सही सदुपयोग गर्दै अघि बढ्न आग्रह गर्नुभएको थियो । औचित्य तथा स्वागत उपाध्यक्ष मुनादेवी सिटौलाले गरेको कार्यक्रमको सञ्चालन आयोजक संस्थाकी सचिव लीला प्रसाईंले गर्नुभएको थियो ।


