झापा, १२ असार । पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न वन तथा वातावरण मन्त्रालयले तत्काल प्रभावकारी परियोजना कार्यान्वयन गर्ने भएको छ। योजनालाई सफल बनाउन सम्बन्धित विकास साझेदारसँग अन्तरक्रिया गरी सुझावहरू सङ्कलन गरिएको छ।
वनमन्त्री ऐनबहादुर शाही ठकुरीले तत्काल र दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो। राहत प्रक्रिया सरल बनाउने र आधुनिक प्रविधिसहित स्थानीय सहभागिता सुनिश्चित गरिनेछ।
२००० देखि हालसम्म हात्तीको आक्रमणबाट ३४५ जनाको ज्यान गएको छ भने मानिसको आक्रमणबाट ५५ हात्ती मरेका छन्। हात्तीका कारण कृषि, पशु र घरगोठमा ठूला क्षति हुने गरेको छ।
सहसचिव बुद्धिसागर पौडेललगायत वक्ताहरूले शिक्षाद्वारा चेतना फैलाउने, वैकल्पिक खेती प्रोत्साहन गर्ने र बिमा सेवा विस्तार गर्ने सुझाव दिएका छन्।
डाक्टरहरू नरेन्द्रमान प्रधान र घनश्याम गुरुङले स्थानीयको व्यवहार परिवर्तन, भारतसँग समन्वय, र फेन्सिङ प्रविधिको प्रयोगद्वारा क्षति न्यूनिकरण सम्भव हुने बताए।
मन्त्रालयले हालसम्म उद्धार, राहत, सचेतना, तारबार, वैकल्पिक खेतीजस्ता उपायहरू अपनाइरहेको छ। तर दीगो समाधानका लागि राजनीतिक प्रतिबद्धता र अन्तर मन्त्रालयीय समन्वय अपरिहार्य देखिएको छ।


