
झापा, १२ असार । सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सूचना व्यवस्थापन गर्न ‘श्रम संसार एप’ सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त एपको औपचारिक शुभारम्भ गर्नुभयो।
विदेशमा रहेका नेपालीहरूले यस एपमार्फत आफ्नो व्यक्तिगत विवरण दर्ता गर्न सक्नेछन्, जसले गर्दा कुन देशमा कति नेपाली छन्, उनीहरूको अवस्था कस्तो छ भन्ने जानकारी सम्बन्धित नेपाली दूतावास, परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई सहज रूपमा उपलब्ध हुनेछ।
परराष्ट्र मन्त्री डा। राणाका अनुसार, सूचनाको अभावका कारण धेरै नेपालीहरू ठगी र समस्यामा परिरहेका छन्। एपबाट प्राप्त विवरणका आधारमा कन्सुलर सेवा र उद्धार कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न सकिनेछ। साथै, श्रम स्वीकृति नलिई विदेश पुगेका नेपालीहरूलाई सम्बन्धित दूतावासमार्फत ‘वैधानिकीकरण श्रम स्वीकृति’ दिने व्यवस्था पनि गरिएको छ।
श्रम मन्त्री भण्डारीले एपले वैदेशिक रोजगारीमा रहेका कागजविहीन नेपालीहरूलाई समेत ठूलो राहत दिने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, यो एपले नेपालीहरूको अवस्थाबारे स्पष्ट जानकारी दिनुका साथै उनीहरूलाई आवश्यक सेवा र सुरक्षामा पहुँच पुर्याउनेछ।
‘श्रम संसार एप’लाई सम्बन्धित देशका नेपाली दूतावासहरूले नियमित रूपमा अद्यावधिक गर्नेछन् भने विदेशमा रहेका नेपालीहरूले अनिवार्य रूपमा आफ्नो विवरण दर्ता गर्नुपर्नेछ।



