झापा, १२ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्षमा खर्च हुन नसकेका अनुदान रकम फिर्ता गर्न मातहतका निकायहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयले अस्पताल, प्रतिष्ठान, समिति, बोर्ड र परिषद्हरूलाई निःशर्त बाहेकका अनुदान रकम चालु आर्थिक वर्ष २०८१÷८२ भित्र खर्च नभएको खण्डमा फिर्ता गर्न निर्देशन दिएको हो ।



आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७९ को उपनियम ३ अनुसार, निःशर्त बाहेकका अनुदान रकम खर्च नभएमा फिर्ता गर्नुपर्ने व्यवस्था छ।
यसै सन्दर्भमा, लेखा उपसचिव गोपी चन्द्र भण्डारीद्वारा जारी विज्ञप्तिमा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा भइसकेका तर खर्च नभएका रकम सम्बन्धित कार्यालयसँग समन्वय गरी समयमै फिर्ता गर्न भनिएको छ।
मन्त्रालयको यो कदम बजेटीय अनुशासन कायम राख्न र सरकारी स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्न गरिएको हो ।


