सिराहा, १८ असार । सिराहाको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार एक शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
शनिबार बिहान ३५ वर्षीय स्थानीय अजय महरा मृत अवस्थामा फेला परेपछि प्रहरीले मृतककी श्रीमतीसहित अर्का एक युवकलाई अनुसन्धानका लागि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार घटना रहस्यमय देखिएको छ। यथार्थ पत्ता लगाउन धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षणका लागि पठाइएको जानकारी दिइएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। महराको शव छिमेकीको खेत नजिकै रहेको आँपको रुखमुनि सेतो प्लास्टिकले घाँटी बाँधिएको अवस्थामा फेला परेको थियो ।


