
सन्तोष शर्मा
झापा, ६ माघ । झापाको माटो अस्वस्थ्य हुँदै गएको छ । अर्थात्, यहाँको माटोमा अम्लीयपन बढ्दै गएको छ । माटोमा प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस र पोटासहरु सन्तुलित मात्रामा हुनुपर्छ । तर, कृषि ज्ञान केन्द्र झापाले हालै दमक नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा सञ्चालन गरेको मोटो परीक्षण घुम्ति शिविरबाट आएको नतिजामा अधिकांश नमूनामा यी तत्वहरु न्यून मात्रमा छन् । जसले माटोको स्वास्थ्य बिगिँदै गएको देखिन्छ ।
दमकमा ५२ र बुद्धशान्तिमा ५२ वटा गरी १०४ माटोको नमूना परीक्षण गर्दा करिब ६० प्रतिशत नतिजामा माटो अम्लीय रहेको पाइएको कृषि ज्ञान केन्द्र झापा प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “माटोमा कम्तिमा दुई प्रतिशत प्राङ्गारिक तत्व हुनुपर्छ, तर अधिकांश नमूनाको परीक्षणमा डेढ प्रतिशतभन्दा माथि छैन”, उहाँले भन्नुभयो, “माटोमा प्राङ्गारिक तत्व क्रमशः कम हुँदै गइरहेको छ ।”

त्यस्तै, दमकको ५२ माटोको नमूनामध्ये २७ वटा नमूनामा नाइट्रोजनको मात्रा न्यून मात्रामा रहेको पाइयो । ४५ नमूनामा पोटासको मात्रा न्यून रहेको पाइएको छ भने ३० वटा माटोको नमूनामा फस्फोरसको मात्रा न्यून रहेको पाइएको छ । केही नमूनामा यी तत्वको मात्रा मध्यम र केहीमा अत्याधिक रहेको समेत पाइएको छ । यस्तै, बुद्धशान्तिमा गरिएको ५२ वटा परीक्षणमा समेत माटोको अवस्था करिब–करिब दमककै जस्तै रहेको छ ।
माटो परीक्षणपछि कृषकलाई खेतमा गोबर (कम्पोष्ट) मल र हरियो मलको प्रयोग गर्न सुझाव दिइएको छ भने माटाको अम्लीयपन घटाउन कृषि चुनको प्रयोग गर्न सिफारिस गरिएको कार्यालय प्रमुख विष्टले बताउनुभयो ।
विस्तारै असर देखिने
हाल झापामा माटोको गुणस्तर खस्कँदै गए पनि धान र मकैको उत्पादकत्व वृद्धि भएको तथ्यांकले देखाउँछ । रासायनिक मलको प्रयोग बढिरहेकाले उत्पादन वृद्धि भएको कार्यालय प्रमुख विष्ट बताउनुहुन्छ ।
“कृषकले पहिला एक बिघामा ८० मन धान फलाउन जति मल प्रयोग गर्नुपर्थो, अहिले त्यसको ढेडगुणा हाल्नुपर्ने अवस्था छ”, रासायनिक मलको प्रयोग बढेसँगै माटोमा अम्लीयपन बढ्दै गएको बताउनुहुँदै उहाँले भन्नुभयो, “तत्काल असर नदेखिए पनि यसले दीर्घकालीन रुपमा असर गर्छ ।”
माटोको गुणस्तर सुधारका लागि कार्यालयले गत वर्ष मात्रै करिब ४२ टन कृषि चुन वितरण गरेको थियो । स्थानीय तहले पनि कृषि चुन वितरण गरिहेकाले यो वर्ष कार्यालयबाट कृषि चुन वितरण गरिएको छैन । माटो सुधारका लागि बाली लगाउनुभन्दा करिब ३० दिन अघि मात्रा मिलाएर कृषि चुनको प्रयोग गर्न प्रमुख विष्टको भनाइ छ ।
माटो परीक्षण स्थानीय तहबाटै हुनुपर्ने
झापामा हाल एउटा मात्र माटो परीक्षण केन्द्र छ । कनकाई नगरपालिकास्थित सुरुङ्गामा मात्र माटो परीक्षण केन्द्रबाट वार्षिक २ हजारदेखि २५ सय वटासम्म माटो नमूना परीक्षण हुँदै आएको छ ।
हरेक पालिकाले माटो परीक्षण गर्ने सामान्य भए पनि ल्याब राख्नुपर्नेमा कृषि ज्ञान केन्द्र झापा विष्टले जोड दिनुभयो । “एउटा मात्र ल्याबले सबैतिरको काम गर्न गाह्रो हुन्छ”, उहाँले भन्नुभयो, “केही पालिकाको कृषि शाखाले सामान्य माटो परीक्षणको काम गरिरहेका छन्, सबै पालिकाले सामान्य भए पनि ल्याब राख्न आवश्यक ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

