
बिर्तामोड, ६ माघ । यही माघ ३ गते दमक र माघ ४ गते बिर्तामोडमा झापाली समाज–अमेरिकाको अगुवाई झापा जिल्लाभरिका १५ वटा स्थानीय तहस्थित विभिन्न सामुदायिक विद्यालयका जेहन्दार र पढाइलाई निरन्तरता दिन कठिनाइ झेलिरहेका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ ।
झापाली समाज–अमेरिकाको अगुवाई र अन्तर्राष्ट्रिय झापाली समाज, विभिन्न देशका राष्ट्रिय संघहरू, च्याप्टरहरू र विश्वमा छरिएका रहेका सम्पूर्ण झापालीमध्ये केहीको सहभागिता र प्रायोजनमा वर्षेनी झापा जिल्लामा छात्रवृत्ति वितरण हुँदै आएको छ ।

यो परियोजना अन्तर्गत यसपालि पनि छात्रवृत्ति वितरण कार्य सम्पन्न भएको झापाली समाज–युएसए.की महासचिव एवम् अन्तर्राष्ट्रिय झापाली समाजकी महिला उपाध्यक्ष सीता पाण्डेले जानकारी दिएकी हुन् । दमकको सनराइज मोडेल विद्यालय र बिर्तामोडस्थित जय–श्री पार्कमा आयोजित कार्यक्रममा गरी करीब सय जना छात्र–छात्रालाई छात्रवृत्ति वितरण गरिएको हो ।
दुबै स्थानका जनही १५ हजार रुपैयाँको छात्रवृत्ति वितरण कार्यक्रम अन्तर्राष्ट्रिय झापाली समाजका निवर्तमान अध्यक्ष मुकुन्द ढुंगानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । ५ वर्ष अघिदेखि जेहन्दार र विपन्न विद्यार्थीलाई प्रदान गर्न शुरु गरिएको अभियानमा यसै पटकदेखि अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र चौंलागाईंले व्यक्तिगत पनि सहभागिता दर्शाउँदै १० जना जनही ७ हजार रुपैयाँका दरले र स्थानीय प्रायोजक ३ जना गरी कूल १३ जना थप नयाँ विद्यार्थी लाभान्वित भएका छन् । छात्रवृत्ति प्राप्त गर्ने कूल विद्यार्थीहरूको संख्या भने ८२ रहेको महासचिव पाण्डेले जानकारी दिइन् ।
चौंलागाईंका तर्फबाट उनका माता–पिता डिकुरादेवी र लोकनाथ चौंलागाईंले छात्रवृत्ति प्रदान गर्दा दातालाई सम्मान–पत्र र खादा लगाई सम्मान गरिएको थियो ।
त्यसैगरी, एकमुष्ट रकम प्रायोजन गर्ने झापाली समाज–युएसए.की निवर्तमान अध्यक्ष यमुना भट्टराईका तर्फबाट उनका दाजु शुकदेव बराल र झापाली समाज–युएसए.का कोषाध्यक्ष प्रशन्न संग्रौलाका तर्फबाट उहाँका दिदी शर्मिला डाँगी जोशीले विद्यार्थीहरूलाई छात्रवृत्तिको रकम हस्तान्तरण गरेका थिए ।
प्रमुख अतिथि अन्तर्राष्ट्रिय झापाली समाजका सल्लाहकार मुकुन्द ढुङ्गानाले सम्बोधन गरेको कार्यक्रममा झापाली समाज–युएसए.की महासचिव पाण्डे लगायत छात्रवृत्ति कार्यक्रमको सहसंयोजक संस्था झापा विकास मञ्चका उपाध्यक्ष रामनाथ मैनाली र महासचिव धर्मराज मैनाली, शिक्षाप्रेमी–समाजसेवी जयनारायण ढुंगाना एवम् अञ्जना ढुंगाना लगायत शिक्षक प्रतिनिधिहरूले पनि मन्तव्य प्रकट गरेका थिए ।
उक्त दुबै स्थानको कार्यक्रममा लाभग्राही छात्र–छात्राहरुका साथै तिनका अभिभावक, शिक्षक, स्थानीय संघ–संस्थाका प्रतिनिधिहरुको उत्साहप्रद सहभागिता रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

