
झापा, २१ माघ । झापाको भद्रपुरमा आजदेखि कोशी पाथीभरा इण्डो नेपाल टि–२० च्याम्पियनसीप हुँदैछ ।
भद्रपुर क्रिकेट क्लबको आयोजनामा आजदेदेखि शुरु हुने प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ । भद्रपुर–८ स्थित मेची क्याम्पसको क्रिकेट मैदानमा सञ्चालन हुन गइरहेको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम रहेको छ ।

लिग ढाँचामा सञ्चालन हुने प्रतियोगितामा नेपाल तथा भारतका आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालका तर्फबाट आयोजक भद्रपुर क्रिकेट क्लब, गण्डकी हिरोज पोखरा, ग्रेट हिमालयन क्रिकेट एकाडमी काठमाडांै र फ्रेण्ड्स युथ क्लब डडेल्धुराको सहभागिता रहनेछ भने भारतका तर्फबाट राइनो ल्याण्ड क्रिकेट एकाडमी आसाम (गोहाटी), ग्लोबल स्टार क्रिकट क्बल लखनउ, क्रिकेट कोचिङ्ग उपाध्याय एकाडमी न्यू दिल्ली र स्नो लायन टिम अफ सिक्किम सहभागी रहने आयोजकले जनाएको छ ।
रू एक करोड २० लाख खर्च हुने प्रतियोगितामा विजेताले नगद रू पाँच लाख, उप–विजेताले नगद रू तीन लाख पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ दि म्याचले नगद रू ११ हजार ट्रफी, उत्कृष्ट बलर र ब्याट्स म्यानले नगद रू २५÷२५ हजार र ट्रफी, उदीयमान खेलाडीले नगद रू ११ हजार तथा प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी मेन अफ दि सिरिजलाई नगद रू ५१ हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
कोशी प्रदेश सरकार, भद्रपुर नगरपालिका तथा स्थानीय दाताहरुको सहयोगमा करिब रू ६० लाखको लागतमा पिच निर्माण गरी स्तरीकरण गर्ने कार्य सम्पन्न भएको छ ।

