
काठमाण्डौ, १३ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको काठमाण्डौ–मुग्लिन सडक आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । बुधबार भोटेकोशीमा आएको बाढीका कारण विभिन्न स्थानमा सडकमा लेदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।
लेदोसहित सडकमा थुप्रिएका फोहर बाढी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा सञ्चालनमा आएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार सडक खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाडीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ ।
उहाँले बाढीका कारण सडकभरि लेदो थुप्रिएकाले यातायात सञ्चालनमा समस्या भएको बताउँदै लेदो हटाएपछि सवारीसाधन सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । यसैबीच, धादिङको वैरेनी बजार क्षेत्रमा झन्डै एक किलोमिटर सडक भने अहिले एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।
यसैबीच अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीका कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरुद्ध भएका छन् । बिहान कालीगण्डकी गाउँपालिका–४ मा रहेको पाती खोलामा आएको बाढी तथा वडा नं. २ राक्सेमा माथिबाट खसेको पहिरोका कारण कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिका–३ गौडाकोटमा माथिबाट ढुङ्गा तथा गेग्रानसहितको पहिरो खसेपछि उक्त सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।


