
उदयपुर, १५ भदौ । इलाका प्रहरी कार्यालय कटारी, उदयपुरले ठूलो परिमाणमा लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले १ हजार १ सय २२ किलो ग्राम गाँजा र बा.१६ च ५२६९ नम्बरको बोलेरो बरामद गरेको हो । भदौ १५ गते बिहान कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन क्षेत्रमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वन क्षेत्रमा खोजतलास गरेको थियो। सो क्रममा बोलेरोसहित जंगलका विभिन्न स्थानमा ५२ वटा प्लास्टिकका बोरामा लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
गाँजा बरामद भएपछि ओसारपसारमा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ का ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाँजासहित पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।


