
झापा, १७ भदौ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार हिमाली र पहाडी भू–भागका केही तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कोशी प्रदेशको हिमाली भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, आज राति पनि देशभर साधारणतया बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने तराई भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
रातिका समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानकै आसपास रहेको छ ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


