झापा, १९ भदौ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ १८ पैसा बढेको छ। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा ढुवानी लागत बढेको भन्दै उद्योगीले ग्यासको मूल्य बढाएका हुन्।
मूल्य बढेसँगै अब एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य २ हजार ६० रुपैयाँबाट बढेर २ हजार १ सय ६५ रुपैयाँ १८ पैसा पुगेको छ। व्यवसायीका अनुसार नयाँ मूल्य काठमाडौं उपत्यकामा आजदेखि नै लागू हुनेछ।

गत भदौ १६ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने निर्णय गरे पनि लामो दूरीमा ढुवानी हुने ग्यासमा थप मूल्य लिन सक्ने व्यवस्था गरेको थियो। यही व्यवस्थाको आधारमा व्यवसायीले ग्यासको मूल्य बढाएका हुन्।
निगमले आफ्नो डिपो वा कार्यालयदेखि १५ किलोमिटर तथा एलपी ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्म साविककै मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ। ५० किलोमिटरभन्दा लामो दूरीमा ढुवानी गर्दा भने थप ढुवानी लागत लिन सकिने व्यवस्था निगमले गरेको छ।
निगमले गत मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा एलपी ग्यासको हकमा उद्योगदेखि ५० किलोमिटरसम्मका लागि प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ मूल्य कायम गरेको थियो। ५० किलोमिटरभन्दा टाढाका उपभोक्ताका लागि भने ढुवानी लागतअनुसार थप मूल्य निर्धारण गर्न सकिने व्यवस्था गरिएको थियो।
यसअघि निगमले जारी गरेका विज्ञप्तिमा ५० किलोमिटरभन्दा परको दूरीमा ढुवानी लागतअनुसार ग्यासको मूल्य निर्धारण गर्न सकिने स्पष्ट व्यवस्था उल्लेख गरिएको थिएन। नयाँ व्यवस्थापछि भने व्यवसायीले दूरी र ढुवानी लागतको आधारमा ग्यासको मूल्य बढाउन थालेका छन्।



