झापा, २५ भदौ । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र मृत्युदर बढेपछि असोज ५ गतेदेखि १९ गतेसम्म विशेष खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा ३० वर्षमाथिका करिब ४ लाख ९३ हजार ३१९ नागरिकलाई जेईविरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ ।
झापामा हालसम्म १३ जनामा जेई संक्रमण पुष्टि भएकोमा चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय प्रमुख बृजकुमार दासका अनुसार अभियानका लागि आवश्यक खोपको व्यवस्थापन तथा भण्डारणको काम भइरहेको छ । जिल्लामा सबैभन्दा बढी जेई संक्रमित मेचीनगरमा भेटिएकाले खोप अभियान पनि मेचीनगरबाट सुरु गरिनेछ ।

एक स्थानीय तहमा बढीमा सात दिनसम्म खोप सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । नागरिकलाई सहज रूपमा खोप उपलब्ध गराउन प्रत्येक वडामा खोप केन्द्र स्थापना गरिनेछ भने महिला स्वास्थ्य स्वयंसेविका र खोपकर्मी परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । खोप लगाएपछि सामान्य असर देखिन सक्ने भए पनि त्यसबाट स्वास्थ्यमा गम्भीर समस्या नहुने प्रमुख दासले बताउनुभयो ।



