
बिर्तामोड, २३ फागुन। पाँचौँ संस्करणको झापा गोल्डकप अन्तरगत आज भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा एपीएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले हराउँदै सातदोबाटो प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोको जितका लागि खेलको ८२औँ मिनेटमा सुशील राईले गोल गरे । लगत्तै ८५औँ मिनेटमा नीरज चौधरीले दोस्रो गोल गरे ।
एपिएफका लागि खेलको इन्ज्युरी समयमा दिपेश धिमालले सान्त्वना गोल फर्काए ।
त्यसअघि छैटौँ मिनेटमा एपिएफका युवराज खड्काले डिबक्सभित्र पाएको बल प्रहार गर्न सकेनन् । १३औँ मिनेटमा सातदोबाटोका प्रशान्त अवस्थीको कर्नर प्रहारमा आकाश बुढामगरले गरेको क्रसर एपिएफका गोलरक्षक युया कुरियामाले बचाउ गरे । २१औँ मिनेटमा एपिएफका अर्मोड बेडमले डिबक्सभित्रबाट गरेको प्रहार सातदोबाटोका मार्टिन सिलोले बचाए ।

यस्तै, ४६औँ मिनेटमा सातदोबाटोका सुशील राईले गरेको प्रहार विपक्षी गोलरक्षकले सहजै समाते । ५५औँ मिनेटमा एपिएफका अर्मोड बेडमको क्रस कप्तान नवीन लामाले मिस गरे । ७४औँ मिनेटमा एपिएफका युवराज खड्काको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।
सातदोबाटोको जीतमा एक गोल गरेका सुशील सोमबारको खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद नौ हजार नौ सय ९९ रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको मंगलबारको अर्को क्वार्टरफाइनल खेल संकटा क्लब र थ्री स्टर क्लब बीच हुनेछ । संकटाले नेपाल पुलिस क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो भने थ्री स्टार बाई पाएर सोझै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार पाउनेछ भने उपविजेताले ६ लाख पाँच हजारमा चित्त बुझाउनु पर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् । उत्कृष्ट मिडफिल्डर, डिफेन्डर, स्ट्राइकररले नगद २१ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । पाँचौँ संस्करणको झापा गोल्डकपको मुख्य प्रायोजक चौधरी ग्रुपको नेपाल आइस हो ।
- admin



