सन्तोष शर्मा
झापा, २१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूलो लगानी भए पनि सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्ने बताउनुभएको छ ।
झापाको हल्दिबारी शुक्रबार पूर्ण साक्षर पालिका घोषणा गर्नुहुँदै प्रमुख अतिथि लिङ्देनले सरकारले सामुदायिक विद्यालयमा ठूलो लगानी गरे पनि नतिजा खस्किनुको कारण खोज्नैपर्ने समय आएको बताउनुभयो ।



“कहाँ कमजोरी भयो, यति धेरै लगानी गरेर पनि सामुदायिक विद्यालयको परीक्षा परिणाम राम्रो हुन सकेको छैन ?”, उहाँले भन्नुभयो, “निजी विद्यालयभन्दा किन कमजोर छ ?”
भौतिक पूर्वाधारदेखि शिक्षक÷कर्मचारीको तलब, तालिम सबै कुरामा निजीभन्दा धेरै रहेको बताउनुहँुदै झापा क्षेत्र नं. ३ का सांसद समेत रहनुभएका लिङ्देनले शिक्षक अभावका भएको ठाउँमा समेत पालिकाहरुले निजी स्रोतबाट शिक्षक नियुक्त गरेको आफूले पाएको सुनाउनुभयो ।
“भवन नभएर हो कि, तलब नपुगेर हो कि, तालिम नभएर हो कि, कमजोरी र कारणहरु हामीले खोज्नुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो देश कस्तो बनाउने भन्ने कुरा अहिले उत्पादन भएका विद्यार्थीहरुबाटै हो, आगामी भविष्य र नेपाल कस्तो हुन्छ भन्ने कुरा हामीले उत्पादन गर्ने विद्यार्थीले निर्धारण गर्छ ।”
आगामी दिनमा देश राम्रो नराम्रो जस्तो बने पनि त्यसको जस र अपजस शिक्षकलाई हुने अध्यक्ष लिङ्देनको भनाइ छ ।
कार्यक्रममा शैक्षिक सत्र २०८१ को एसईई परीक्षमा हल्दिबारीबाट उत्तीर्ण भएका तीन सय आठ जना विद्यार्थीमध्ये उत्कृष्ट ३२ जना विद्यार्थी नगदसहित सम्मान गरिएको छ । प्रमुख अतिथि लिङ्देन, गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली लगायतले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले हल्दिबारीबाट एसईईमा सामुदायिकबाट दुई सय ८९ जना र निजीबाट एक सय ७८ जना गरी कूल चार सय ६७ जना विद्यार्थी सहभागी भएको सामुदायिकबाट एक सय ३८ र निजीबाट एक सय ७० जना विद्यार्थी उत्तीर्ण भएको बताउनुभयो । उहाँले गत वर्षभन्दा उत्तीर्ण प्रतिशत बृद्धि भएको बताउनुभयो । गत वर्ष सामुदायिक विद्यालय उत्तीर्ण प्रतिशत २७ बाट बढेर ४८ पुगेको उहाँले बताउनुभयो ।
सोही कार्यक्रममा गाउँपालिकाले तयार पारेको गाउँ शिक्षा योजना पुस्तिका सार्वजनिक गरिएको छ । गाउँपालिकाकी शिक्षा शाखा प्रमुख जनककुमारी राईले शिक्षा क्षेत्रको सुधारका लागि पञ्चवर्षीय गाउँ शिक्षा योजना पुस्तिका तयार पारिएको बताउनुभयो । गाउँपालिकामा साक्षरता दर ९५ प्रतिशत रहेको प्रमुख राईले बताउनुभयो ।
त्यस्तै, हल्दिबारीलाई पूर्ण खोप पालिका सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
६८ जना अपाङ्गता भएकालाई सहायक सामग्री
यसैबीच, गाउँपालिकाले शुक्रबार यहाँका ६८ जना अपाङ्गता भएकालाई सहायक सामग्री वितरण गरेको छ ।
नगरपालिकाको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले उनीहरूलाई सहायक सामग्री वितरण गरेको हो । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले गर्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष लिङ्देनले नगरपालिकाले प्रदान गरेको सहायक सामग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो । अपाङ्गता भएकाहरुको दैनिकीलाई सहज बनाउन सहायक सामग्री वितरण गरिएकाले अधिकतम उपयोग गर्न उहाँले आग्रह गर्नुभयो । आज कार्यक्रममा सहायक सामग्री लिन आउन नसकेका÷छुटेकालाई घरघरमा पु¥याउन कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, करुणा फाउण्डेसनसँगको सहकार्यमा र हल्दिबारी गाउँपालिकाले रू आठ लाख ९६ हजार बराबरको सहायक सामग्री वितरण गरेको गाउँपालिकाकी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा ह्वील चियर १३ थान, वैशाखी ७ थान, श्रवण यन्त्र १२ थान त्रिपल स्टिक ६ थान, एल स्टिक १२ तान, नेक १ थान, एयर मेट्रेस २ थान, स्टेनिङ फ्रेम ३ थान, ट्वाइलेट स्टेचर ६ थान, वकिङ फ्रेम २ थान र सीपी ह्वीलचियर २ थान वितरण गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले बताउनुभयो ।


