झापा, २१ असार । झापामा आज विभिन्न घटनामा एक बालकसहित चार जनाको मृत्यु भएको छ ।
झापाको भद्रपुर नगरपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक जना बालक, मेचीनगर नगरपालिकामा सवारी दुर्घटनामा दुई जना र दुर्घटनामा घाइते भएका एक जनाको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।



भद्रपुर–३ स्थित देउनिया खोला र मेची खोलाको दोभानमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब ३ बजे भद्रपुर–२ महारानी चोकका अर्जुन लिम्बूका १२ वर्षीय छोरा अर्पण लिम्बूको डुबेर मृत्यु भएको छ । साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको शव फेला प्रवक्ता खड्काले बताउनुभयो ।
त्यस्तै, मेचीनगर–१२ स्थित माथिल्लो धाइजनमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज साँझ चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ५५७१ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको मे ८ प ८०३ नम्बरको मोटरसाइकल मेची राजमार्गमा एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–११ का ३४ वर्षीय भीमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । अटोमा सवार बुद्धशान्ति गाउँपालिका–३ की ४९ वर्षीया निर्मला बिक र उनकी १७ वर्षीया छोरी दीपा बिक घाइते भएका छन् । उनीहरूको चारआलीस्थित बीएण्डके पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
दुर्घटनामा संलग्न अटो चालक बुद्धशान्ति गाउँपालिका–१ का ४० वर्षीय युवराज घिमिरेसहित अटो र मोटरसाइकल दुवैलाई इलाका प्रहरी कार्यालय चारआलीले नियन्त्रणमा लिएको छ ।
यस्तै, झापाको मेचीनगर नगरपालिका–१० स्थित ढाड चोकको भित्री सडक खण्डमा आज बिहान सिटी सफारी दुर्घटना हुँदा चालक मेचीनगर–११ का ३२ वर्षीय राज कररियाको मृत्यु भएको छ । महामती फर्निचर उद्योगबाट नागाडुब्बातर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भई पल्टिएको थियो ।
उता, गत असार १५ गते मेचीनगर नगरपालिका–७ स्थित पालिया टोलमा सिटी सफारी दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनाको आज मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गबाट बसपार्कतर्फ जाँदै गरेको मे १ ह ६१०५ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको थियो । दुर्घटनामा सवारीमा सवार मेचीनगर–७ नयाँ बसपार्कका ४० वर्षीय सुदीप राजबंशी घाइते भएका थिए ।
बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनामा संलग्न सिटी सफारी र चालक मेचीनगर–७ निवासी ४५ वर्षीय नबिन विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । सम्बन्धित सबै घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


