कनकाई, २३ जना । झापाको कनकाई नगरपालिका वडा नम्बर १ ले वडावासीलाई विद्युतीय चुलो वितरण गरेको छ ।
कनकाई नगरपालिकाको कार्यालय परिसरमा आज आयोजित एक संक्षिप्त कार्यक्रममा वडाले यहाँका ८६ जनालाई विद्युतीय चुलो वितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि आशा शर्मा शिवाकोटीले लाभग्राहीलाई चुलो हस्तान्तरण गर्नुभयो ।
उपप्रमुख शिवाकोटीले प्राथमिकताका आधारमा चुलो वितरण गरिएको बताउनुभयो । अर्को पटक समेत चुलो आउने र नपाउने नगरवासीलाई वितरण गरिने उपप्रमुख शिवाकोटीले बताउनुभयो ।
सरकारले एलपी ग्यास आयातको प्रतिस्थापन गरी स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन विद्युतीय चुलो वितरण कार्यलाई प्राथमिकतामा राखेको उपप्रमुख सुवाकोटीले बताउनुभयो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुहुँदै कनकाई नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुशीलकुमार पोखरेलले वडाबाट कुनै सुविधा नपाएका वडावासीलाई विद्युतीय चुलो वितरण गरिएको बताउनुभयो ।
वडामा चुलोको माग धेरै भएपनि प्राथमिकताका आधारमा वितरण गरिएको र पुनः वितरण गरिने वडाध्यक्ष पोखरेलको भनाइ छ । सुधारिएको चुलो पनि चाँडै वितरण गरिने वडाध्यक्ष पोखरेलले बताउनुभयो ।
कुल तीन हजार ८७० पर्ने विद्युतीय चुलोका लागि ७३९ रुपैयाँ नगरपालिका र ८८८ रुपैयाँ चुलो प्राप्त गर्नेहरूबाट लिइएको वडा सदस्य निर्मला खड्काले जानकारी दिनुभयो ।


