
काठमाडौँ, २७ असार । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी० केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवङ्गत पत्नी सीता दाहालको दोस्रो स्मृति दिवसका अवसरमा मानवसेवा आश्रम, रानीवन सेवा केन्द्र काठमाडौँमा पुगेर उहाँलाई स्मरण गरेका छन्।
उनले पत्नीको स्मृतिलाई दिगो राख्न तथा सबैलाई प्रेरणा मिलोस् भन्ने उद्देश्यले स्मृति दिवसलाई आश्रममा आश्रित मानवहरूसँग मनाएका हुन्। सो अवसरमा २५० सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरूका लागि खाद्यान्न सामग्री र रु एक लाख नगद सहयोग प्रदान गरिएको थियो। साथै, अध्यक्ष दाहालले आफ्नै हातले भोजन वितरण गरे।
कार्यक्रममा दाहालले प्रधानमन्त्री रहेका बेला हेटौँडास्थित मानवसेवा आश्रमको मुख्यालय उद्घाटन गरेका अनुभव स्मरण गर्दै, सरकारको जिम्मेवारी मानवसेवा आश्रमले निर्वाह गरिरहेको बताए। उनले सातै प्रदेशका लागि सहयोगापेक्षी सडक आश्रित व्यक्तिको उद्धार र सेवा गर्न गाडी उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्बाट गरिए पनि कार्यान्वयन नभएकोप्रति चिन्ता व्यक्त गरे र यस विषयमा पहल गर्ने आश्वासन दिए।
मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले संस्थाको विगत, वर्तमान र भावी योजनाबारे जानकारी गराए। आश्रमले खुला सडकमा जीवन यापन गरिरहेका सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन तथा मानसिकरशारीरिक रूपमा कमजोर मानवहरूको उद्धार, पालनपोषण, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलनका गतिविधि गर्दै आएको छ।
संस्थाले २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र बनाउने लक्ष्यसहित अभियान सञ्चालन गरिरहेको छ।



