
झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि सम्बन्धी सबै समस्या समाधान हुने बताउनुभएको छ ।
झापाको कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई शनिबार जग्गा धनीपूर्जा वितरण कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले भूमिसम्बन्धी कानूनी र व्यावहारिक दुवै प्रकारका समस्या समाधान गरिने बताउनुभयो । केही कानूनी जटिलताले काम गर्न समय लागेको बताउनुहुँदै उहाँले अब सबै प्रकारका जटिलताको समाधान गरिने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भूमिको अधिकतम् प्रयोग गर्न जोड समेत दिनुभयो । उहाँले कृषिमा आधुनिकीकरण गर्दै अधिकतम् लाभ लिनुपर्नेमा जोड दिनुभयो ।
“आधुनिक ढंगले कृषि कसरी गर्ने ? नयाँ नयाँ बाली कसरी लगाउने ? बढी प्रतिफल दिने बाली कसरी लगाउने त्यसर्फ लाग्नुपर्छ”, एक जना किसानले अकबरे खुर्सानी खेतीबाट वार्षिक तीन करोड रुपैयाँ आम्दानी गर्ने गरेको सुनाउनुहुँदै उहाँले भन्नुभयो, “नयाँ–नयाँ ढंगको प्रयास अघि बढाऔं ।”
प्रधानमन्त्री ओलीले जमिन खेर जान नदिई केही न केही बाली लगाएर उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा भूमि आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्म सबै भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपुर्जा वितरण गरेर खुसी दिने बताउनुभयो । आगामी दुई वर्षमा धनीपुर्जा वितरण कार्य सम्पन्न गर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले झण्डै ५० वर्षदेखि धनीपुर्जाको पर्खाइमा रहेका कनकाईबासीले धनीपुर्जा पाउने क्रम शुरु भएको बताउनुभयो । विसं. २०४८ सालमा आफू जनप्रतिनिधि हुँदादेखि धनीपुर्जा वितरण गर्ने कार्यमा लागेको उहाँको भनाइ छ ।
कनकाई नगर क्षेत्रमा करिब सात हजार घर परिवार धनीपुर्जाको पर्खाइमा रहेको उहाँले बताउनुभयो । “सातै हजारको जग्गाको नापनक्सा र आवश्यक सबै कुरा पूरा गरेछौं”, उहाँले भन्नुभयो, “भेरिफिकेसन गरिसकेकाहरुलाई मात्र धनीपुर्जा दिन सकिने हो भने दुई महिनामा दुई हजार जनालाई धनीपुर्जा दिन सकिन्छ ।”
नगरका दुई सय आठ जनामध्ये प्रधानमन्त्री ओलीले पाँच जनालाई जग्गाधनी पुर्जा वितरण गर्नुभएको थियो । कार्यक्रममा धनीपुर्जा प्राप्त गर्नुहुने कनकाई–३ का जगतबहादुर वाग्लेले धनीपुर्जा पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।
नगरपालिकाले यसअघि नगरका एक सय ६० जनालाई धनीपुर्जा वितरण गरिसकेको छ । यस पटक कनकाई–३ मा एक सय २७ जना, वडा नम्बर ६ मा ८० जना र वडा नम्बर ८ मा एक जना सुकुम्बासीले जग्गा धनीपुर्जा प्राप्त गर्ने कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिनुभयो ।



