
भद्रपुर, ३० असार । झापाको भद्रपुर नगरपालिका–६ राधाकृष्ण टोलमा पर्खाल भत्किएर किचिँदा एक मजदुरको मृत्यु भएको छ ।
आइतबार सघन सहरी भवन निर्माण विभागद्वारा भइरहेको नाला निर्माणको क्रममा नाला निर्माणमा खटिएको यज्ञ निर्माण एण्ड सप्लायर्स प्रालिका कामदार बिर्तामोड नगरपालिका–९ लक्कीबारीका ३५ वर्षीय लक्ष्मण कामतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही स्थानका इन्द्र राउतको घरको कम्पाउण्डमा लगाइएको पर्खाल अचानक भत्किँदा कामती गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । मृतकको शव हाल अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


