सन्तोष शर्मा
कनकाई, ३० असार । झापाको कनकाई नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ ।
नगरपालिकाको सभाहलमा आज आयोजित ‘नीति, बजेट तथा कार्यक्रम सार्वजनिकीकरण’ कार्यक्रममा आगामी आव २०८२÷०८३ को बजेट, नीति तथा कार्यक्रम पारित भएको हो ।
बजेट पारितसँगै नगरको बजेट पुस्तिका सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिञ्चाइ तथा ऊर्जामन्त्री एकराज कार्कीका बजेट पुस्तिका सार्वजनिक गर्नुभयो ।
प्रमुख अतिथि मन्त्री कार्कीले कनकाई नगरपालिका नीति, बजेट तथा कार्यक्रमसहितको पुस्तक सार्वजनिक गर्ने जिल्लाकै पहिलो भएको बताउनुहुँदै भन्नुभयो, “कतिपय पालिकाहरुले अझै पनि आगामी आर्थिक बर्षको नीति, बजेट र कार्यक्रम सार्वजनिक गर्न सकेका छैनन्, कनकाईले बजेट पुस्तक नै प्रकाशन गरेर सर्वजनिक गर्नु उदाहरणीय कार्य हो ।”
कार्यक्रममा नगर प्रमुख राजेन्द्र पोखरेलले अघिल्ला वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्षमा कार्यविधि बनाएर थप नयाँ काम गरिने बताउनुभयो । “यो वर्ष छ सय घर परिवारको स्वास्थ्य बीमा गरेका छौं”, उहाँले भन्नुभयो, “आगामी वर्ष एक हजार तीन सय घरपरिवारको स्वास्थ्य बीमा गर्छौं ।”
कार्यविधि नै बनाएर मृत्यु संस्कार सहयोग, नगरका विपिन्न वर्गका नागरिकका लागि शुद्ध खानेपानीको पहुँच पु¥याउन सहुलियत प्रदान गर्ने लगायतका कार्यक्रम गरिने नगरप्रमुख पोखरेलले बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख आशा शर्मा शिवाकोटीले चालु आर्थिक वर्ष २०८१–०८२ को समिक्षात्मक जानकारी दिनुहुँदै आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति, बजेट र कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । आगामी आर्थिक वर्षका लागि उहाँले प्रस्तुत गर्नुभएको रू ७० करोड ६९ लाख २५ हजार एक सय एक बराबरको बजेट सर्वसम्मत पारित भएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले राम्रो नीति तथा कार्यक्रम ल्याउँदैमा सफल नहुने बताउनुभयो । उहाँले नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्दै जनताको अनुहारमा खुसी ल्याउने काम गर्नुपर्नेमा जोड दिनुभयो ।
“आगामी साउनदेखि कात्तिक मसान्तसम्म सबै ठेक्कापट्टा लगाउने काम सक्छौं”, उहाँले भन्नुभयो, “पुस भित्र उपभोक्ता समितिबाट गरिने कामको सम्झौता गरिसक्ने कार्यतालिका बनाएका छौं ।”
कार्यक्रममा नगरपालिकाले सञ्चारकर्मी विकास उप्रेतीसहित १६ जनालाई पुरस्कृत एवम् सम्मानित गरेको छ । कार्यक्रममा सम्मानित व्यक्तिहरुको तर्फबाट उत्कृष्ट करदाता कुमारमणि पोखरेल, उत्कृष्ट खेलाडी रोमा थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका योजना शाखा प्रमुख जमुना कटुवालले गर्नुभएको थियो ।


