अर्जुनधारा, ३१ असार । अर्जुनधारा नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने तयारी गरेको छ।
भोलि असार ३२ गते बुधबार बिहान ११ः३० बजे नगर कार्यपालिकाको कार्यालय, शनिश्चरेमा आयोजना हुने कार्यक्रममा १२८ जना लाभग्राहीलाई धनीपुर्जा प्रदान गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रमको प्रमुख आतिथ्यमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे रहनेछन् ।
धनीपुर्जा वितरण अर्जुनधारा नगरपालिका वडा नं. ११ अन्तर्गत लक्ष्मीधाप टोलका लाभग्राहीलाई लक्षित गरिएको हो । गत जेठ २६ गते सार्वजनिक सूचना जारी गरी आवश्यक कागजातसहित राजस्व बुझाउने समय दिइएको थियो । प्रक्रिया पूरा गरेका लाभग्राहीहरूलाई अब प्रमाणपत्र प्रदान गरिने भएको हो ।
नगरपालिकाले सबै लाभग्राहीलाई समयमै उपस्थित भई प्रमाणपुर्जा लिन अनुरोध गरेको छ। कार्यक्रमले नगरभित्रको भूमिहीन तथा अव्यवस्थित बस्ती व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


