झापा, ३१ असार । दमक नगरपालिका–९ निवासी ११ वर्षीय रमन धिमालको शव हराएको एक दिनपछि स्थानीय खोलाको दोभानमा फेला परेको छ।
मिति २०८२ असार ३० गते दिउँसो १२:३० बजे घरबाट “साथीसँग खेल्न जान्छु” भनी निस्किएका बालक रमन धिमाल साँझसम्म घर नफर्किएपछि परिवार तथा छरछिमेकीले खोजतलास सुरु गरेका थिए।
खोजीको क्रममा असार ३१ गते बिहान ६:३२ बजे सानुअर्ना खाडीस्थित बेतेनी खोला र भुत्रे खोलाको दोभानमा बालकको शव पानीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन ईलाका प्रहरी कार्यालय दमकबाट प्रनाउ राम प्रसाद तिमल्सिनाको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो। शवलाई पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको र परीक्षणपछि बालकका पिता सुमन धिमालले शव बुझी सदगद गरेका छन्।
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।


