
बिर्तामोड, ३१ असार । साहित्य चौतारी बिर्तामोड झापा नेपालको २६ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाइएको छ ।
संस्थाका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ अभिनेता टंक शर्मा गौतमको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङले औचित्यसहित संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संस्थाका तत्कालिन सचिव डिकमान बिरहीले रचना गरेको स्वागत गीत गाएर स्वागत गरिएको कार्यक्रममा मनिषा भट्टराईले गीत प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा चर्चित देउडा गायक तथा वरिष्ठ सर्जक नन्दकृष्ण जोशी र उनकी श्रीमती प्रार्थना खनाललाई भिपधज साहित्य चौतारी वर्ष संगीत विशिष्ठ अभिनन्दन, साहित्यकार मित्रप्रसाद दाहाललाई भिपधज भानु–माधव साहित्य चौतारी वर्ष साहित्य विशिष्ठ अभिनन्दन, मुर्तिकार यशोदाकुमारी सिंह लम्साल र उनका श्रीमान वालकुमार लम्साललाई भिपधज साहित्य चौतारी वर्ष कला सम्मान प्रदान गरिएको थियो ।
त्यस्तै महाकाव्यकार भानुभक्त कुभिण्डेली र श्रीमती ईन्दिरा कुसुमलाई २५ हजार रुपैयाँ राशीको भिपधज साहित्य चौतारी वर्ष साहित्य पुरस्कार, गायिका लोचन भट्टराईलाई ११ हजार १ सय ११ रूपैयाँ राशीको जेवी–मदन स्मृति साहित्य चौतारी वर्ष संगीत सम्मान तथा पुरस्कार, कलाकार तथा साहित्यकार बिमला चिमरियालाई ११ हजार १ सय ११ रूपैयाँ राशीको भिपधज डिकमाल विरही साहित्य चौतारी वर्ष कला पुरस्कार प्रदान गरिएको थियो।
सोही कार्यक्रममा नेपाली साहित्य सम्मेलन दार्जिलिङले साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै साहित्य चौतारी बिर्तामोड झापालाई सम्मान गरेको थियो ।
त्यस्तै गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङलाई हिरा कुमार (हिरादेवी वाइवा र कुमार सुव्वा) स्मृति अक्षयकोष सञ्चालनार्थ भारू ५० हजार १ सय १ रूपैयाँ हस्तान्तरण गरिएको थियो।
गोर्खा दुःख निवारक सम्मेलन दार्जिलिङका उपाध्यक्ष जितेस बराइलीले खुशी व्यक्त गर्दै अक्षयकोषको व्याजबाट प्रतिभालाई नियमअनुसार पुरस्कृत गर्ने बताए ।
त्यस्तै सप्तक संगीत विद्यालय बिर्तामोडलाई लक्ष्मी गणेश ( लक्ष्मीप्रसाद जोशी एलपी र गणेश रसिक ) स्मृति संगीत पुरस्कारका लागी ५१ हजार रूपैयाँ अक्षयकोषका लागी प्रदान गर्ने घोषणा गरियो ।
सोही कार्यक्रममा आर्ट स्टुडियोका कलाकारले भानुभक्त र घाँसी नाटक मञ्चन गरेका थिए । कार्यक्रममा संस्थाकी सदस्य मीना अधिकारीले लेखेको जीवनपरक उपन्यास काँडाघारीको जिन्दगी प्रमुख अतिथी तथा अतिथिहरूले बिमोचन गरेका थिए ।
उक्त कृतिको बारेमा सल्लाहकार हरीनारायण भट्टराईले समिक्षा गरेका थिए। कार्यक्रममा सम्मानित ब्यक्तित्व गायिका लोचन भट्टराईले भानुभक्तीय रामायण गाएकी थिइन् ।
कार्यक्रममा अभिनन्दित ब्यक्तित्व देउडा गायक नन्दकृष्ण जोशीले देउडा गायन मात्र गरेनन् , उनले देउडाको परिचय र महत्वको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी शर्माले साहित्य चौतारीले ऐतिहासिक कार्यक्रम गरेको बताए । सोही कार्यक्रममा प्रमुख अतिथी शर्मालाई साहित्य चौतारी बिर्तामोड झापा र नेपाल फिल्म सोसाइटी कोशी प्रदेशले संयुक्तरुपमा अभिनन्दन गरेको थियो ।
कार्यक्रममा नायसा आचार्य, जीना अधिकारी, मञ्जु धिमालले नृत्य गरेका थिए।
कार्यक्रममा सप्तक संगीत विद्यालयकी सञ्चालिका सञ्जिवनी पौड्याल र विद्यार्थीहरू प्रिया श्रेष्ठ र आलिया अधिकारी, रोहिका तिम्सिनालगायतले गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव तुलसीप्रसाद निरौला र पूर्व सचिव दिलिप घिमिरेले गरेका थिए।


