
इलाम, १ साउन । इलामको सूर्योदय नगरपालिका–१ भालुखोपमा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार गएराति स्थानीय काजी तामाङको घरमा माइजोगमाई गाउँपालिका–२ तारसिंह निवासी २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको हो । साथमा रहेका ३२ वर्षीय निरोज चापागाईं गम्भीर घाइते भएका छन् ।
प्रकाशलाई ससुराली लिएर गएका निरोजको सोही क्रममा सूर्योदय–१ शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग विवाद भएको थियो । विवादकै क्रममा शेर्पाले धारिलो हतियार प्रयोग गरी प्रकाशमाथि प्रहार गरेका थिए । घटनास्थलमै प्रकाशको मृत्यु भएको हो भने पेटमा चोट लागेका निरोजको उपचार भइरहेको छ ।
प्रहरीले आरोपी शेर्पालाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।


