
इलाम, १० भदौ । जितपुर माध्यमिक विद्यालयमा एक शिक्षकले विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोप लागेको छ । स्थानीय अभिभावक र विद्यार्थीहरूले घटनाबारे गम्भीर आपत्ति जनाउँदै कानुनी कारबाहीको माग गरेका छन् ।
अभिभावकका अनुसार एक विद्यार्थीले गल्ती गरेको भन्दै शिक्षकले करिब दुई घण्टासम्म निरन्तर कुटपिट गरेका थिए । घटनास्थलमा रहेका अन्य विद्यार्थीहरूले पनि कुटपिट भएको देखेको पुष्टि गरेका छन् । घटनापछि पीडित विद्यार्थीलाई उपचारका लागि लगिएको छ ।

अभिभावकहरूले विद्यार्थीले गल्ती गरे पनि शैक्षिक विधिबाट समाधान खोज्नुपर्नेमा शिक्षकले ‘गुन्डा शैली’मा व्यवहार गरेको आरोप लगाएका छन् । उनीहरूले विद्यालय प्रशासन र शिक्षक संघमा राजनीतिक प्रभाव बढेको र अभिभावकले गुनासो गर्दा उल्टै दबाब दिने प्रवृत्ति देखिएको गुनासो गरेका छन् ।
विद्यालयका प्रधानाध्यापकले भने, “विद्यार्थीलाई सामान्य सम्झाएको मात्रै हो, मरणासन्न हुने गरी कुटपिट भएको होइन।” तर अभिभावकहरूले उक्त प्रतिक्रिया अस्वीकार गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् ।
घटनापछि स्थानीय समाजमा आक्रोश चुलिएको छ । अभिभावक, विद्यार्थी तथा नागरिक समाजले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

