
झापा, १९ भदौ । नेपाली कांग्रेस नेता डा. शशांक कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन हुन सक्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा बिर्तामोडमा आयोजित ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसम्वाद कार्यक्रम प्रमुख अतिथि डा. कोइरालाले नेपालमा उत्पादन क्षमतामा ह्रास आउँदा व्यापार घाटा बढेको बताउनुभयो । कृषि क्षेत्रमा युवाको आकर्षण बढाउन विशेष सरकारी योजना आवश्यक रहेको उहाँको भनाइ छ ।

कांग्रेसका पूर्व महामन्त्री डा. कोइरालाले लोकतान्त्रिक पद्धतिमा पार्टी सञ्चालन चेन अफ कमाण्डबाट हुनुपर्नेमा जोड दिँदै निर्वाचित सभापतिले सबै कार्यकर्तासँग समान व्यवहार गर्नुपर्ने धारणा राख्नुभयो । चिकित्सा पेशामा एक लाख आँखाको शल्यक्रिया गरेर पाएको सन्तुष्टि राजनीतिमा भाषण र परिणामबीचको अन्तरसँग तुलना गर्दै उहाँले साझा अनुभव सुनाउनुभयो ।
कार्यक्रममा कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले उपभोक्ताका आवाज संकलन गरी सरकारसम्म पु¥याइने बताउनुभयो । पार्टीको महाधिवेशन २०८३ मंसिरभित्रै हुने र क्रियाशील सदस्यता नवीकरण समयमै सक्न उहाँले निर्देशनसमेत दिनुभयो ।
कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्काले अस्थिर सरकारका कारण अर्थतन्त्र कमजोर भएको उल्लेख गर्दै संयुक्त सरकारको आवश्यकता औंल्याउनुभयो । उहाँले मुलुकमा लोडसेडिङ नभएको, केवल ट्रिपिङ भएको स्पष्ट पार्नुभयो ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उपभोक्ता, उत्पादक र विक्रेताबीच सन्तुलन कायम गर्न राज्यको भूमिका महत्वपूर्ण रहेको बताउँदै खाद्य मिसावट, विषादी प्रयोग र नियमनकारी निकायको कमजोरीबारे चिन्ता व्यक्त गर्नुभयो ।
केन्द्रीय सदस्य सरिता प्रसाईंले किसान र उपभोक्ताका समस्या संसदबाट समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । महेन्द्राकुमारी सुब्बाले गुट–उपगुटको राजनीति अन्त्य गर्न आग्रह गर्नुभयो । गोमा भट्टराईले उपभोग्य वस्तुमा मिसावट हटाउन गुणस्तर मापन र व्यापार सन्तुलन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा उर्मिला थपालियाले चाडपर्वमा उपभोक्ता सचेत हुनुपर्ने र सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचार नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो । प्रेमराज महर्जनले कार्यपत्र प्रस्तुत गर्दै कालाबजारी र बिचौलिया नियन्त्रणको आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा विभिन्न वक्ताहरूले व्यापार घाटा घटाउन स्पष्ट योजना, विषादी नियन्त्रण, निर्यात प्रोत्साहन, साना व्यवसायीलाई सहुलियत, मलखाद र सिँचाइ व्यवस्थाको माग राखेका थिए । कार्यक्रमको स्वागत कांग्रेस झापा सभापति देउकुमार थेवेले गर्नुभयो भने सञ्चालन लीला ढुङ्गेलले गर्नुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

