शिवसताक्षी, ३ असोज । संविधान दिवसको अवसरमा नेकपा (एमाले) शिवसताक्षी नगर कमिटीले शुक्रबार मौन र्याली निकालेको छ । र्यालीले शिवसताक्षीको दूधे बजार परिक्रमा गर्दै संविधानको रक्षाका लागि जनचेतना जगाउने उद्देश्य राखेको थियो ।
र्यालीमा सहभागीहरूले “संविधानको रक्षा हाम्रो कर्तव्य”, “संविधान हाम्रो पहिचान”, “संविधान विपरीत कुनै सम्झौता मान्य छैन”, “सशक्त नागरिक सुरक्षित संविधान”, “संविधान नै लोकतन्त्रको आधार” र “संविधान संकटमा देश संकटमा” जस्ता नारा अंकित प्लेकार्ड बोकेका थिए ।
र्यालीपछि आयोजित संक्षिप्त कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद राधाकृष्ण खनालले हालैको जेनजी आन्दोलनपछि संविधानको मर्म र भावना विपरीत सरकार गठन भएको दाबी गरे। उहाँका अनुसार, जेनजी पुस्ताले भ्रष्टाचारविरुद्ध अघि सारेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न शक्ति घुसपैठ गराइएपछि परिस्थितिलाई अस्वस्थतापूर्ण ढंगले मोडिएको र त्यसपछि संविधानसम्मत अभ्यासलाई कमजोर तुल्याउने कार्य भएको हो ।
खनालले हाल संविधानको धारा ६१ प्रयोग गरी संविधानको मर्म विपरित सरकार गठन भएको प्रति प्रश्न उठाउनु भयो । उहाँले अहिले संविधान संकटमा भएकाले सबैले रक्षा गर्नु पर्ने जिकिर गर्नु भयो । तर जनताबाट निर्वाचित प्रतिनिधिहरूले लामो संघर्षपछि निर्माण गरेको संविधानलाई अस्वीकार गरी थोरै व्यक्तिहरूको मिलेमतोमा संविधान पुनरलेखन गर्नेप्रयास जनताको हितमा कदापि नहुने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य रोषन थोप्राले नेपालीको भावना अनुरुप बनेको संविधानलाई ओझेलमा पार्ने काम भएकोे बताउनु भयो । संविधान सभाको चुनावबाट निर्माण गरेको संविधान सबै जात जाति, भाषा, धर्मवालम्बीहरुको साझा संविधानको रुपमा रहेको छ। उहाँले यस्तो सर्वमान्य संविधान संकटमा परेको र यस्तो अवस्थामा विदेशी शक्तिहरुले नेपाललाई अस्तिर बनाउन सक्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश तथा जिल्ला कमिटी सदस्य, युवा संघका जिल्ला र नगर पदाधिकारी, भातृ संगठनका प्रतिनिधि, विभिन्न जनवर्गीय संगठनका अध्यक्ष तथा सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो ।


