झापा, ५ असोज । झापाको कनकाई नगरपालिकाले असोज ७ गतेदेखि सेवा सुचारु गर्ने भएको छ ।
जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड र आगजनी भएपछि नगरपालिकाको सेवा ठप्प भएको थियो । जतिसक्दो चाँडो सेवा प्रवाह गर्नुपर्ने भएकाले धेरै कुरा मर्मत र थोरै कुरा खरीद गरेर नगरपालिकाको सेवा सुचारु हुने नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । आवश्यक सरसफाई लगायत काम सकिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले तय गरेका धेरै योजनाहरु टेण्डर प्रक्रियामा गइसकेको बताउनुहुँदै नगरप्रमुख पोखरेलले भन्नुभयो, “केन्द्रको बजेटका कारण पर्ख र हेरको अवस्था छौं ।” हरेक नागरिकको श्रम र पसिनाबाट बनेको नगरपालिका र वडा कार्यालयहरुमा हालको अवस्थामा आउँदा आफू अत्यन्तै दुःखी भएको उहाँले बताउनुभयो ।
“भोलि जोसुकै आए पनि यो संस्थागत संरचना रही रहनुपर्छ”, उहाँले भन्नुभयो, “यसमाथिको आक्रमणको जति नै निन्दा गरे पनि कम हुन्छ ।” समयले नसोचेका घटनाक्रम आइलाग्ने बताउनुहुँदै उहाँले भन्नुभयो, “खण्डहर बनेको नगरपालिकालाई हामी सबैले उत्कृष्ट बनाउन लाग्नुपर्छ ।”
न्यूनतम् पूर्वाधार पूरा गरेर नगरपालिकाको सेवा सुचारु गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताउनुभयो । “प्राथमिकताका आधारमा काम अघि बढाउँछौं”, उहाँले भन्नुभयो, “७ गतेदेखि नगरपालिका र सबै वडाबाट निरन्तर सेवा प्रवाह हुन्छ ।”
आन्दोलनका क्रममा नगरपालिका र मातहतका वडा कार्यालयबाट चोरी भएका सामान फिर्ता गर्न नगरपालिकाले सूचना जारी गरे पनि कनकाई–५ को वडा कार्यालयमा फोटोकपि कागज छोडेर गए बाहेक हालसम्म कोहीकसैले समान फिर्ता नगरेको नगरपालिकाले जनाएको छ ।
आगजानी, लुटपाट र क्षति पु¥याउनेलाई नछोडिने
भदौ ३० गते बसको नगरपालिकाको कार्यपालिका बैठकले जेन जी आन्दोलनमा नगरपालिका कार्यालय भवन, वडा कार्यालयहरु, निजी क्षेत्रका भौतिक संरचनामा आगजानी, लुटपाट र क्षति पु¥याउने व्यक्तिको पहिचान गरी कानूनी कारबाहीका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको छ ।
आन्दोलनमा सहादत प्राप्त गरेका नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले नगर र वडाबाट चोरी भएका समान तत्काल फिर्ता गर्न सूचना जारी गर्ने, नगरपालिका, वडा कार्यालयको क्षति विवरण संकलन, कनकाई नगर क्षेत्रका निजी क्षेत्रमा भएको क्षतिको विवरण संकलनका लागि वडाले सुरक्षा निकायसँग समन्वय गरी सहजीकरण गर्ने, आन्दोलनपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिसद्लाई शुभकामना दिने निर्णय गरेको छ ।


