
झापा, ५ असोज । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री नियुक्त गर्न थप ३ जनाको नाम राष्ट्रपति कार्यालय पुगेको छ ।
स्रोतका अनुसार मोहना अन्सारी, जगदीश खरेल र महावीर पुनको नाम राष्ट्रपति कार्यालय पुगेको हो । मानवअधिकारकर्मी रहेकी अन्सारीले लिने मन्त्रालयको नाम खुलेको छैन । पत्रकार खरेलले सञ्चार तथा सूचना प्रविधि र वैज्ञानिक पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लिने छन् ।
उनीहरूको नियुक्ति र शपथ आजै गर्ने शीतल निवासको तयारी छ । कार्की नेतृत्वको सरकारमा रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश आर्याल यसअघि नै मन्त्री बनिसकेका छन् । खनालले अर्थ, घिसिङले ऊर्जा, भौतिक पूूर्वाधार र सहरी विकास तथा अर्यालले गृह र कानुन मन्त्रालको जिम्मेवारी सम्हालेका छन् ।
मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित ११ जनाभन्दा बढी नबनाउने प्रधानमन्त्री कार्कीले बताइसकेकी छिन् ।



