झापा, ५ असोज । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सिलवालको नियुक्ति गर्ने निर्णय गरेको हो।
सिलवाल प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक हुन्। उनको कार्यकाल चार वर्षको रहनेछ। यससँगै हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रूपमा पठाइएको छ। शाक्यलाई यसअघि पनि सोही आयोगमा नियुक्त गरिएको थियो।
स्मरणीय छ, तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत ११ गते शाक्यलाई नियुक्त गरेको थियो। घिसिङले विद्युत महसुल तिर्न बाँकी रहेका कम्पनीहरूबाट बक्यौता असुल गर्नुपर्ने माग राखेका थिए, तर तत्कालीन सरकारले त्यसमा आनाकानी गरिरहेको थियो।
विवाद चर्किँदै जाँदा तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले घिसिङलाई पटक–पटक स्पष्टीकरण मागेका थिए। अन्ततः सरकारले उनलाई हटाउने निर्णय लिएको थियो।
तर, जेनजी आन्दोलनपछि ओली सरकार ढलेको थियो। अन्तरिम सरकार गठन भएपछि घिसिङ ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुनः आएका थिए। उनकै प्रस्तावमा मन्त्रिपरिषद्ले शाक्यलाई हटाउने निर्णय गरेको हो।


