झापा, ७ असोज । गत भदौ २४ गते ‘जेनजी’द्वारा आयोजित प्रदर्शनका क्रममा देशभरका कारागारमा तोडफोड र आगजनी भएपछि १४,५५६ कैदीबन्दी भागेका थिए। कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ६,९८४ कैदीबन्दी फर्किसकेका छन् भने अझै ७,५७२ जना फरार छन्।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पछिल्लो दुई दिनमा मात्रै ६५६ जना कैदीबन्दी कारागारमा फर्किएका छन्। कैदीबन्दीहरू दैनिकजसो स्वेच्छाले फर्किरहेका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको हो।
भागेका कैदीबन्दीहरू २८ वटा कारागार र ९ वटा सुधारगृहबाट फरार भएका थिए। बालसुधार गृहबाट मात्रै ९६३ जना भागेका थिए। प्रहरीका अनुसार हिरासतमा रहेका २,००० आरोपीसमेत फरार छन् र खोजी कार्य जारी छ।
उक्त घटनामा १५,५२५ कैदीबन्दी भने कारागारमै बसेका थिए। हालसम्म १० जना कैदीबन्दीको मृत्यु भएको पुष्टि भएको छ।


