
झापा, ७ असोज । जेन–जी आन्दोलनपछि सत्ता छोड्न बाध्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाल भक्तपुरको गुण्डुमा छन् । बालकोटस्थित निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेपछि पोलिटब्युरो सदस्य महेश बस्नेतले गुण्डुमा राजेन्द्र श्रेष्ठको घर भाडामा लिएर ओलीलाई राखेका हुन् ।
भदौ २ गतेदेखि सोही घरमा बस्दै आएका ओलीले पार्टीका नेताहरूसँग पालैपालो भेट गर्दै राय संकलन गरिरहेका छन्। चार दिनको अवधिमा उनले अधिकांश पदाधिकारीसँग भेट गरिसकेका छन्।
भदौ २३ गते भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, प्रत्यक्ष कार्यकारी व्यवस्था लगायतका मागसहित जेन–जीले देशव्यापी प्रदर्शन गरे। तत्कालीन प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारले प्रदर्शनलाई नियन्त्रण गर्न कठोर कदम चालेपछि सोही दिन २० प्रदर्शनकारीको मृत्यु भयो।
भोलिपल्ट आन्दोलन उग्र बन्दै जाँदा सरकारी संरचना र नेताहरूको घरमा तोडफोड र आगजनी भयो। संसद् भवनसमेत जलाइयो। त्यसपछि ओलीले राजीनामा दिएर सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट बाहिरिए। उनलाई ललितपुरको सैनिक क्याम्पमा एक हप्ता राखिएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि सुरक्षा अवस्था सामान्य बन्दै गयो। त्यसपछि ओली गुण्डुस्थित नयाँ घरमा सरे।
ओलीले सार्वजनिक कार्यक्रमहरूमा सहभागिता जनाएका छैनन्। तर, पार्टी पदाधिकारीहरूलाई एकल भेटमा बोलाइरहेका छन्। सचिव लेखराज भट्ट, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे लगायतले अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठाएका छन्।
सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य डा। विन्दा पाण्डे, केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पनि ओलीलाई पद हस्तान्तरण गर्न सुझाव दिएका छन्। उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार विधान महाधिवेशनपछि तेस्रो कार्यकालका लागि बाटो खोलेलगत्तै राजीनामाको माग तीव्र बनेको हो।
शाक्यले दसैँअघि पार्टी बैठक बस्नुपर्ने बताउँदै भौतिक रूपमा सम्भव नभए भर्चुअल माध्यमबाट भए पनि निर्णय आवश्यक रहेको उल्लेख गरिन्।
अध्यक्ष ओलीले जेन–जी आन्दोलनलाई विदेशी शक्तिको नियोजित हस्तक्षेपको रूपमा व्याख्या गरेका छन्। उपाध्यक्ष गुरु बरालका अनुसार ओलीले नेताहरूलाई हरेस नखान र फेरि लयमा फर्किने ढाडस दिइरहेका छन्।
ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेता भीम रावलमाथिको आक्रमणलाई पनि सोही सन्दर्भमा जोड्दै यो संयोग नभएको बताएका छन्।
जेन–जी प्रदर्शनकारीले पार्टी कार्यालय जलाएपछि एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार नयाँ कार्यालयको खोजी भइरहेको छ। एकदुई दिनभित्र निर्णय हुने अपेक्षा गरिएको छ।



