झापा, ८ भदौ । लागुऔषधसहित झापामा दुई व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले असोज ७ गते दुई फरक स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पहिलो घटना साँझ ६ः३० बजे मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल नजिक भएको हो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतको पानीट्याङ्कीबाट भाडाको सिटी सफारीमा आउँदै गरेका अर्जुनधारा नगरपालिका–११ का २६ वर्षीय वीरेन्द्र लिङ्देनलाई शंका लागि सोधपुछ तथा शरीर तलासी गर्दा खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ १ ग्राम ३३० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ। उनलाई लागुऔषधसहित नियन्त्रणमा लिई आवश्यक कारवाही भइरहेको छ।
त्यसैगरी, सोही दिन दिउँसो ४ः२० बजे दमक नगरपालिका–६ बसपार्कस्थित सडकमा हिँडिरहेका दमक नगरपालिका–१ का ३३ वर्षीय हर्कबहादुर कुमाललाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले शंका लागी चेकजाँच गर्दा प्लास्टिक बाहेकको लिसाइलो पदार्थ ब्राउनसुगर जस्तो देखिने २ ग्राम ७२० मिलिग्राम फेला परेको थियो। उनलाई पनि नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


