
झापा, १० असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमनमा संलग्न व्यक्तिहरू पक्राउ पर्न सक्ने संकेत गरेका छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले राज्यका अनुसन्धान निकायहरू सक्रिय भइसकेको जानकारी दिए।
“अनुसन्धान गर्ने निकायले के के रोक्नुपर्छ, त्यतिमात्र (राहदानी मात्र) किन होला? बयान पनि लिनुपर्ला, पक्राउ पनि गर्नुपर्ला,” मन्त्री अर्यालले भने, “जे हुन्छ, त्यो अनुसन्धान गर्ने निकायले गर्ने कुरा हो। आयोग गठन भएको छ, आयोगले काम गर्छ।”
केही शीर्ष नेताको राहदानी रोक्का गर्ने विषयमा उठेको जिज्ञासामा उनले आयोगको सल्लाह र सिफारिसअनुसार काम अघि बढ्ने स्पष्ट पारे।
गृहमन्त्री अर्यालले शुसासनको मामलामा सरकार दृढ रहेको उल्लेख गर्दै भने, “शुसासनको मामलामा सरकारले खुट्टा टेकेन भने सरकारको म्यान्डेटमाथि प्रश्न उठ्न सक्छ। जेनजीहरूले प्रश्न उठाउन सक्छन्। त्यसैले प्रधानमन्त्रीज्यूले आफ्नो सम्बोधनमा स्पष्ट रूपमा भन्नुभएको छ—शुसासनमा सरकार दह्रोसँग खुट्टा टेक्छ।”
जेनजी आन्दोलनका क्रममा भएका हत्या र आगजनी घटनाको छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिसकेको छ। आयोगले आजैदेखि काम सुरु गरेको छ।



