झापा, १३ असोज । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा, बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
त्यस्तै, आज राति गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा, कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।


