
झापा, १३ असोज । नेकपा एमालेको सचिवालय बैठकमा बहुमत सदस्यहरू पार्टी पुनर्गठनको पक्षमा उभिएका छन्। उनीहरूले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर तत्काल महाधिवेशनमा जानुपर्ने धारणा राखेका छन्।
जेन–जी आन्दोलनका कारण सत्ता छोड्न बाध्य भएका अध्यक्ष ओलीले आइतबार भक्तपुरको गुन्डुमा सचिवालय बैठक बोलाएका थिए। दिउँसो सवा २ बजे सुरु भएको बैठक साँझ साढे ७ बजेसम्म चलेको थियो।

बैठकमा अधिकांश सचिवालय सदस्यहरूले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने, विगतको शैलीले सम्भव नभएको भन्दै समग्र पुनर्गठनको माग गरेका थिए। जेन–जी आन्दोलनले पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठाइएको थियो।
एक पदाधिकारीका अनुसार, “पार्टीको समग्र पुनर्गठनको कुरा भयो। अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने विषय पनि उठ्यो। नेतृत्वबारे गम्भीर छलफल गर्नुपर्ने धारणा बन्यो।”
तर, ओली र उनको पक्षका नेताहरू उक्त प्रस्तावमा सहमत भएनन्। ओलीले घटनाको जिम्मेवारी लिन अस्वीकार गर्दै यो योजनाबद्ध रूपमा घटाइएको र अदृश्य शक्तिको संलग्नता रहेको दाबी गरे। उनले पद त्याग गर्ने सम्भावना पनि नदेखाएको संकेत दिए।
त्यसैले बैठकबाट कुनै ठोस निर्णय निस्कन सकेन। आगामी सचिवालय बैठक १९ र २० गते बस्ने तय भएको छ भने २७, २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बस्नेछ।
उपाध्यक्ष गुरु बरालले बाह्य शक्तिको आक्रमणको सामना गर्न आन्तरिक एकता अपरिहार्य भएको बताए। “जुन बेला बाह्य शक्तिले हमला गरेको छ, आन्तरिक अन्तरविरोधहरू गौण हुन्छन्,” उनले भने, “संविधानको रक्षाका लागि देशभक्त र लोकतान्त्रिक शक्तिहरू एकाकार भएर अघि बढ्नुपर्ने बेला आएको छ।”

