
झापा, १३ असोज । दसैँ पर्वलाई लक्षित गर्दै तीन नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ आज फूलपातीको दिनदेखि नेपालभर प्रदर्शनमा आएका छन्।
‘माइतीघर’
तामाङ संस्कृतिमा आधारित सामाजिक विषयवस्तुमा निर्माण गरिएको यो चलचित्र मिलन तामाङको निर्देशनमा तयार भएको हो। केदार घिमिरे, उपासना सिंह ठकुरी, धीरज मगर, प्रकाश सपुतलगायत कलाकारको अभिनय रहेको चलचित्रले पुरानो मर्मलाई नयाँ परिवेशमा प्रस्तुत गरेको निर्माता रोहित अधिकारीले जानकारी दिनुभयो।
‘हरिबहादुरको जुत्ता’
हरिवंश आचार्यद्वारा लेखिएको र दीपेन्द्रकुमार खनाल निर्देशित चलचित्रमा चर्चित पात्र ‘हरिबहादुर’को भावनात्मक यात्रा प्रस्तुत गरिएको छ। चलचित्रले सामाजिक–राजनीतिक यथार्थ र युवापुस्ताको मुद्दालाई समेटेको छ। स्वस्तिमा खड्का, प्रियङ्का कार्की, प्रकाश सपुतलगायत कलाकारको अभिनय रहेको छ।
‘बलिदान’
निर्देशक सन्तोष सेनको यो चलचित्रमा समीर भट्टको प्रमुख भूमिका छ, जसको यो दोस्रो चलचित्र हो। कथाभन्दा प्रस्तुतीकरणमा जोड दिइएको चलचित्रमा ऋचा शर्मा, अर्पण थापा लगायत कलाकारको अभिनय छ।

