झापा, १५ असोज । झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ५ स्थित माईखोलाको बीच भागमा एक अन्दाजी ५५–६० वर्षका पुरुष मृत अवस्थामा फेला परेका छन् । मृतकको नाम, थर तथा वतन हालसम्म खुल्न सकेको छैन ।
बुधबार बिहान करिब ११ः४० बजे स्थानीयहरूले पानीमा घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सहयोगमा शवलाई घटनास्थलबाट करिब १०० मिटर पूर्वतर्फ निकालेर सुरक्षित राखिएको थियो ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थलमा खटिएको थियो। दिउँसो १ बजे सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो ।
तर, अस्पतालमा शव राख्ने स्थान अभाव भएपछि साँझ ४ः३० बजे उक्त शवलाई मदन भण्डारी ट्रमा अस्पताल मंगलबारे मोरङमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। शवको पहिचान खुलाउने प्रयास जारी रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


