
झापा, १५ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चाडपर्वको अवसरमा तोकिएको वैधानिक भाडादरभन्दा बढी असुल्ने तथा टिकटको कालोबजारी गर्ने यातायात व्यवसायीमाथि तत्काल कारबाही गरिने चेतावनी दिएका छन्।
चाडबाडको मौका छोपी यात्रुहरूबाट स्वीकृत दरभन्दा बढी भाडा असुल्ने, टिकटको कालोबजारी गर्ने लगायतका गुनासा निरन्तर आइरहेका सन्दर्भमा मन्त्री घिसिङले सम्बन्धित निकायलाई कडा निर्देशन दिएका हुन्। उनले यात्रुलाई अनावश्यक दुःख दिएर चाडबाडलाई कमाउने अवसरको रूपमा प्रयोग नगर्न आग्रह गर्दै सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।
मन्त्री घिसिङले भने, “देशको विषम परिस्थितिमा यात्रुहरूलाई सहज सेवा दिनु सबैको दायित्व हो। स्वीकृत भाडा दरभन्दा बढी असुल गर्ने र टिकटमा कालोबजारी गर्ने कार्य सह्य छैन।”
ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका मन्त्री घिसिङले यातायात व्यवसायीबाट यस्ता क्रियाकलाप भएको पाइएमा तत्काल स्थानीय सुरक्षा निकाय र प्रशासनलाई खबर गर्न सर्वसाधारणलाई सुझाव दिएका छन्।



