झापा, २९ असोज । ७० औं प्रहरी दिवस २०८२ को अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले रक्तदान तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। विराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रम कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले पहिलो रक्तदाता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेललाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रहरी अधिकृत, कर्मचारी तथा आधारभूत तालिमका प्रशिक्षार्थीहरूसहित २४ जनाले रक्तदान गरेका थिए।
कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन इटहरी, जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीका प्रमुखहरू तथा अन्य प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।
यसै अवसरमा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको आयोजनामा विराटनगर महानगरपालिका–१२ स्थित तालिम केन्द्र चौकदेखि विराटनगर–१६ स्थित श्री शिवालय, हनुमान मन्दिर, किरातेश्वर महादेव मन्दिर परिसर तथा आसपासका मुख्य र सहायक सडकहरूमा सरसफाई कार्यक्रम पनि सञ्चालन गरिएको थियो।
सरसफाई कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र र गणका प्रहरी अधिकृत तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।


