झापा, २९ असोज । झापाको कनकाई–७ स्थित फक्ताङलुङ एजुकेसन फाउण्डेसन, दुर्गापुरमा तीन दिवसीय विविध खेलकुद गतिविधि सुरु भएको छ।
विद्यालयको वार्षिक क्यालेन्डरअनुसार प्रत्येक वर्ष सञ्चालन हुँदै आएको कार्यक्रम यस वर्ष २०८२ सालको वार्षिक कार्यतालिकाअन्तर्गत आज बुधबारदेखि शुक्रबारसम्म सञ्चालन हुने विद्यालयले जनाएको छ।

शिक्षक ईमानसिङ्ग फ्याक (लिम्बू) का अनुसार प्रतियोगितामा फुटबल, भलिबल, कराते, टेबलटेनिससहित ४० भन्दा बढी खेल विधा समावेश छन्।

कार्यक्रमको उद्घाटन विद्यालयका अध्यक्ष दुर्गा नेम्वाङको अध्यक्षतामा वडा नं. ७ का अध्यक्ष भीष्मभूषण सिटौलाले गर्नुभयो। उद्घाटन समारोहमा अध्यक्ष सिटौलाले शिक्षा क्षेत्रको समुन्नतिका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै निजी क्षेत्रको योगदानलाई महत्वपूर्ण बताउनुभयो। उहाँले सरकारी शिक्षालाई उत्कृष्ट बनाउन स्थानीय सरकार सक्रिय रहेको उल्लेख गर्नुभयो।
विद्यालयका प्रिन्सिपल ओमविक्रम नेम्वाङले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयले वार्षिक रुपमा सञ्चालन गर्दै आएको खेलकुद गतिविधिको प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँले यस शैक्षिक सत्रदेखि ‘क्रियाकलापमा आधारित शिक्षण सिकाई’ कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो।

प्रिन्सिपल नेम्वाङका अनुसार विद्यार्थीलाई युगसापेक्ष र व्यावहारिक शिक्षा दिनका लागि क्रियाकलापमा आधारित सिकाइलाई प्राथमिकतामा राखिएको छ। व्यवस्थापक संगीता लिम्बूले विद्यालयले पढाइसँगै बाहिरी ज्ञान र चाडपर्वको परम्परालाई पनि सिकाउने अभ्यास गर्दै आएको बताउनुभयो।
कार्यक्रममा शिक्षक श्रीप्रसाद गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन शिक्षक सिर्जना लिम्बूले गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्य निर्मल आङ्ग्थोपो, अभिभावक, पूर्व विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।
विद्यालयले केही समयअघि अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको जानकारी दिँदै प्रतियोगिता सुरु हुनुअघि विद्यार्थी, शिक्षक, अतिथि तथा अभिभावकबीच मैत्रीपूर्ण भलिबल खेलसमेत आयोजना गरिएको थियो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

