
झापा, ३० असोज । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधारमा रहेको श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगीराज श्रीकमलनयनाचार्य आश्रममा निर्माणाधीन श्रीलक्ष्मीनारायण दिव्यदेश अन्तिम चरणमा पुगेको छ। प्रतिष्ठा समारोह (महासम्प्रोक्षण) आगामी २०८३ वैशाख ११ देखि १८ गतेसम्म भव्य रूपमा आयोजना गरिने भएको छ।
आज बिहीबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा निर्माण समितिका सचिव हरिनारायण वास्कोटाले समारोहको विस्तृत जानकारी दिएका हुन्। समारोहमा नेपाल, भारत, भूटान, अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायतका देशबाट विशिष्ट धर्माचार्य, सन्त, महन्त, विद्वान् तथा हजारौं भक्तजनको सहभागिता रहनेछ।
दक्षिण भारतको तामिलनाडु, काञ्चीपुरम् स्थित श्रीकाञ्चीप्रतिवादी भयकर सिंहासनाधीश्वर जगद्गुरु अनन्तश्रीविभूतिषत श्रीश्रीनिवासाचार्य स्वामीजी महाराज प्रमुख आतिथ्यका रूपमा उपस्थित हुनेछन्।
वि।सं। २०२८ मा स्थापना भएको आश्रम वि।सं। २०५१ देखि जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भई निरन्तर सञ्चालनमा रहेको छ। नेपालका ऐतिहासिक प्रथम जगद्गुरु योगीराज श्रीकमलनयनाचार्य स्वामीजी महाराजको अभिमत प्राप्त यस संस्थाले नेपाल, भारत, भूटान, अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतका देशमा रहेका मठ मन्दिरको अभिभावकत्व निर्वाह गर्दै आएको छ।
आश्रमले श्रीलक्ष्मीनारायण मन्दिर, श्रीवोगिराज स्वामीजीको कृष्टि मन्दिर, श्रीजनन्तादर्श संस्कृत वेद विद्यालय, श्रीलक्ष्मीनारायण मौज्ञाला, वैष्णवालय, छात्रावास, पुस्तकालय, बज्ञमण्डप लगायतका प्रकल्पमार्फत धार्मिक, सामाजिक र शैक्षिक क्षेत्रमा योगदान दिँदै आएको छ।
जीर्ण अवस्थामा रहेको मूल मन्दिरको स्थानमा दिव्यदेश निर्माण गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ २०७८ वैशाख १६ गते शिलान्यास गरिएको थियो। हालसम्म करिब ९ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भइसकेको छ भने बाँकी साजसज्जा र संरचना निर्माणमा थप २ करोड खर्च लाग्ने अनुमान गरिएको वरिष्ठ उपाध्यक्ष हरि तिम्सिनाले जानकारी दिए।
तिम्सिनाका अनुसार सम्पूर्ण लागत भक्तजनको दान–चन्दाबाट प्राप्त भएको हो। कोशी प्रदेश सरकार तथा सहरी विकास मन्त्रालयबाट भान्साघर निर्माणका लागि २५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। मन्दिरमा एक दर्जनभन्दा बढी पत्थर मूर्ति र दुई दर्जनभन्दा बढी धातु मूर्ति स्थापना गरिनेछ।
समारोह सम्पन्न गर्न अनुमानित तीन करोड रुपैयाँ खर्च लाग्नेछ। आवश्यक रकमको अभाव रहेकोले तीन तहका सरकार, उद्योगी, व्यवसायी, समाजसेवी, स्थानीयवासी तथा देश–विदेशमा रहेका भक्तजनहरूलाई सहयोगका लागि आग्रह गरिएको छ।
समारोह व्यवस्थापनका लागि १००८ सदस्यीय मूल आयोजक समिति गठन गरिनेछ भने आवश्यकताअनुसार उप–समितिहरू पनि बनाइने पत्रकार सम्मेलनमा जानकारी दिइयो। सम्मेलनमा अध्यक्ष स्वामी गोविन्दप्रसाद दाहाल, स्वामी केशव आचार्य महन्त, स्वामी भागवत आचार्य उताराधिकारीलगायत समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।


